• बुधबार ५-१०-२०८३/Wednesday 08-26-2026

पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण

सिन्धुली ७ भदौ ०८३


सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । पहिलो भेलामै संस्थाले सामाजिक तथा वातावरणमैत्री गतिविधिको सुरुवात गर्दै टोलवासीलाई ६ सयभन्दा बढी सयपत्री फूलका बिरुवा निःशुल्क वितरण गरेको छ ।


कमलामाई नगरपालिका ७ की जनप्रतिनिधि उषा बी.क.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षसेवन्तहरी बख्रेल (महेश) ले अध्यक्षता गर्नुभएको थियो । 


भेलामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै उल्लेख्य संख्यामा टोलवासीको सहभागिता रहेको थियो । कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई संस्थासँग सम्बन्धित आवश्यक कागजात तथा दस्तावेज औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।


नयाँ कार्यसमितिले पहिलो बैठकलाई औपचारिकतामा मात्र सीमित नगरी आगामी तिहारलाई लक्षित गर्दै टोलवासीका घर–आँगनमा सयपत्री फूल फुलाउने अभियानसमेत सुरु गरेको हो । सोही क्रममा टोलवासीलाई ६ सयभन्दा बढी सयपत्रीका बिरुवा निःशुल्क वितरण गरिएको संस्थाले जनाएको छ ।


बिरुवा पाएपछि टोलवासीमा समेत उत्साह थपिएको थियो । आफ्नै घर–आँगनमा फूल फुलाउने तथा तिहारलाई थप आकर्षक बनाउने उद्देश्यले गरिएको उक्त पहललाई स्थानीयले सकारात्मक र उदाहरणीय कामका रूपमा लिएका छन् ।


कार्यक्रममा बोल्दै अध्यक्ष सेवन्तहरी बख्रेल (महेश)ले टोलको विकासका लागि सबै टोलवासीको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले टोलवासीको आवश्यकता र सुझावलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सामाजिक, वातावरणीय तथा विकास निर्माणसँग सम्बन्धित कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


“हाम्रो टोलको विकास हामी सबैको साझा जिम्मेवारी हो। एक्लै अगाडि बढेर होइन, सबै टोलवासीको साथ, सहयोग र सहकार्यबाट मात्र राम्रा काम सम्भव हुन्छन्। आगामी दिनमा सबैलाई समेट्दै रमाइलो डाँडाटोललाई अझ सुन्दर, व्यवस्थित र नमुना टोलका रूपमा विकास गर्ने हाम्रो प्रयास रहनेछ,” उहाँले भन्नुभयो ।


प्रमुख अतिथि उषा बी.क.ले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै टोलको विकास तथा सामाजिक कार्यमा वडा र जनप्रतिनिधिको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने बताउनुभयो ।


पहिलो भेलामै ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको रमाइलो डाँडाटोल टोल विकास संस्थाले आगामी दिनमा पनि जनमुखी तथा उदाहरणीय गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस

देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम

सिन्धुली ८ भाद्र २०८३   देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ। सुनसरीको

नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

सिन्धुली २९ साउन ०८३ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले

प्रेस स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ सिन्धुलीको आग्रह

सिन्धुली, १३ साउन ०८३ नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पत्रकार बुद्ध नेपालीविरुद्ध समाचार प्रकाशनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय